आजका लागि पुँजी बजारका महत्वपूर्ण अपडेटसहित बजारको चिरफार Morning Walk मा स्वागत छ।
अहिलेसम्म बजारमा के भयो, कुन कम्पनीले के निर्णय गर्यो र आज लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के छन्? छोटकरीमा हेरौँ।
सिक्लेस हाइड्रोपावरले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद?
सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १२.७०६ प्रतिशत बोनस सेयर र ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको २०८३ असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। उक्त बोनस सेयरको कुल मूल्य १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ रहेको छ।
त्यस्तै, चुक्ता पुँजीको ०.६६९ प्रतिशत अर्थात् ६५ लाख ३६ हजार ९०९ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। उक्त नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिनेछ।
Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]
क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष तथा प्राविधिक विश्लेषक अतितलाल श्रेष्ठले नेपालको सेयर बजारमा आगामी दिनमा राम्रो र्याली आउने सम्भावना रहेको बताएका छन्। पछिल्लो समय सरकारका पुँजी बजारसम्बन्धी नीति, घट्दो ब्याजदर, मार्जिन लेन्डिङको विस्तार र नियामकीय सुधारले बजारमा नयाँ माग सिर्जना गर्ने आधार तयार भइरहेको उनको भनाइ छ।
लामो समयदेखि बजार साइडवेजमा रहेकाले छोटो अवधिको उतारचढावलाई मात्र आधार बनाएर बजारको दीर्घकालीन दिशाबारे निष्कर्ष निकाल्न हतार गर्न नहुने श्रेष्ठले बताए।
आधारभूत सेयरधनीको ५% सेयर बिक्री नियमबारे आज सेबोनमा छलफल हुँदै
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीसम्बन्धी व्यवस्थाका विषयमा आज लगानीकर्ता तथा सरोकारवालासँग छलफल गर्ने भएको छ।
धितोपत्र बोर्ड उच्च स्रोतका अनुसार सेबोनले उक्त व्यवस्थाबारे छलफल गर्न सरोकारवालालाई आज बिहान १० बजे बोर्डमै बोलाएको हो।
हालको व्यवस्थाअनुसार सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो होल्डिङको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था छ। त्यसपछि कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ।
सेबोनले यही व्यवस्थाको औचित्य, कार्यान्वयन तथा सरोकारवालाको चासोका विषयमा छलफल गर्न लागेको हो।
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्टमा, अन्तर्वार्ता कहिले हुँदैछ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि छनोट प्रक्रिया अघि बढेको छ। सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत आवेदन दिएका ८ उम्मेदवारमध्ये ४ जनालाई संक्षिप्त सूचीमा समावेश गरेको हो।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिस्टमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी परेका छन्।
चारैजना उम्मेदवारको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुने भएको छ।
अन्तर्वार्ता तथा प्रस्तुतीकरणको तालिका:
अनिल राज पौडेल: बिहान ७:०० बजे
नवराज सापकोटा: बिहान ८:०० बजे
नारायण प्रसाद सापकोटा: साँझ ५:३० बजे
प्रताप सुवेदी: साँझ ६:३० बजे
छनोट समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।
हिजोका समाचार छुटाउनुभयो कि?
आज बिहानका लागि पुँजी बजारका महत्वपूर्ण अपडेट यति नै।
दिनभर बजारमा भएका महत्वपूर्ण गतिविधिसहित साँझ फेरि बजारको चिरफार Evening Walk मा भेट्नेछौँ। धन्यवाद।

प्रतिकृया