बजारको चिरफार Evening Walk – सोमबार, १९ असोज २०८३ (५ अक्टोबर २०२६)

बजारको चिरफार Evening Walk – सोमबार, १९ असोज २०८३ (५ अक्टोबर २०२६)
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।

आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

Advertisement Ads



आज सेयरबजारमा के भयो?

असोज १९ गते सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २,५६६.७६ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्य बढेको, २४२ कम्पनीको सेयर मूल्य घटेको र ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



पञ्चकन्या माई हाइड्रोपावरको ९.९८ मेगावाटको अप्पर माई आयोजना पुनः सञ्चालनमा

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आफ्नो ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार आयोजनाको Expansion Joint मा अत्यधिक पानी चुहावट भएपछि मर्मतका लागि सुरुङ पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले गत भदौ २१ गते साँझ ६ः१० बजेदेखि आकस्मिक रूपमा विद्युत् उत्पादन बन्द गरिएको थियो।



एक कम्पनीले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच महिनापछि आईपीओ निष्काशनको अनुमति दिने प्रक्रिया पुनः अघि बढाएको छ। बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो।

बोर्डले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्नेछ।

हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।



एनएलजी इन्स्योरेन्सका सीईओ पन्त पुनः चार वर्षका लागि नियुक्त

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तलाई थप चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको ४२१औँ बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको २०८३ साल असोज १६ गते (२ अक्टोबर २०२६) बसेको सञ्चालक समितिको बैठकले पन्तको आगामी कार्यकाल चार वर्षका लागि थप गर्ने निर्णय गरेको हो।



हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा मिश्र नियुक्त

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको ९१औँ सञ्चालक समिति बैठकले रिक्त रहेको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गरेको हो।

कम्पनीको २०८३ असोज १५ गते बिहीवार बसेको सञ्चालक समितिको बैठकले मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।



हिमालय उर्जा विकास कम्पनीले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारण सभा आगामी २०८३ कात्तिक १६ गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको १३४औँ बैठकको निर्णयअनुसार सभा काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्विटमा बिहान ११ बजे बस्नेछ।

सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहलगायत वित्तीय विवरण छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुनेछ।

सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ। यससँगै सञ्चालकको पारिश्रमिक घटाइएको सम्बन्धमा छलफल तथा बाँकी अवधिका लागि भएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ।



आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।

भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स