नयाँ वर्ष २०८३ को सुरुवाततिर प्रतिकित्ता ५ हजार रुपैयाँको हाराहारीमा कारोबार भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (RSML) को सेयर मूल्य मंगलबार घटेर २,७०५ रुपैयाँमा झरेको छ। यससँगै चार महिनाको अवधिमा कम्पनीको सेयर मूल्य करिब ४५ प्रतिशतले घटेको छ। अंकका हिसाबले हेर्दा प्रतिकित्ता २२०० रुपैयाँभन्दा बढीको गिरावट हो। अर्थात् नयाँ वर्षको सुरुवाततिर ५ हजार रुपैयाँको हाराहारीमा सेयर खरिद गरेर अहिलेसम्म होल्ड गरेका लगानीकर्ता अहिले प्रतिकित्ता २२०० रुपैयाँ भन्दा बढीको घाटामा छन्।
पछिल्लो एक साताको कारोबार झन् उल्लेखनीय छ। करिब एक साताअघि ३,५००–३,६०० रुपैयाँको हाराहारीमा कारोबार भएको कम्पनीको सेयर मूल्य एक सातामै २,७०५ रुपैयाँमा झरेको छ। यस अवधिमा मात्रै प्रतिकित्ता ९०० रुपैयाँभन्दा बढी अर्थात् करिब २५ प्रतिशतले मूल्य घटेको हो।
बजार जानकारहरूका अनुसार यो गिरावट कम्पनीको वित्तीय अवस्था वा व्यवसायमा आएको परिवर्तनभन्दा पनि योग्य संस्थागत लगानीकर्ता Qualified Institutional Investors (QIIs) को लक-इन अवधि समाप्त हुन लागेको विषयसँग जोडिएको छ।
रिलायन्स स्पिनिङ बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्काशन (IPO) मा आएको कम्पनी हो। कम्पनीको जारी पूँजी १ करोड ९० लाख कित्ता भए पनि सर्वसाधारणका लागि केवल १९ लाख २६ हजार कित्ता अर्थात् १०.१४ प्रतिशत सेयर मात्रै निष्काशन गरिएको थियो। त्यसमध्ये पनि ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ता (QII) हरूलाई छुट्याइएको थियो, जसमा ६ महिनाको लक-इन व्यवस्था लागू गरिएको छ। (सेयर सुचिकृत भएको मितिबाट ६ महिना)
यसको अर्थ, कम्पनी सूचीकृत भएपछि बजारमा तत्काल स्वतन्त्र रूपमा कारोबारयोग्य (Free Float) सेयर जम्मा ११ लाख ५५ हजार ३६० कित्ता अर्थात् कम्पनीको कुल जारी पूँजीको करिब ६ प्रतिशत मात्रै थियो। यति सीमित आपूर्तिका कारण बजारमा सामान्य खरिद चाप आउँदा पनि मूल्य तीव्र रूपमा बढ्ने वातावरण बनेको विश्लेषकहरू बताउँछन्। त्यसकै परिणामस्वरूप रिलायन्स स्पिनिङको सेयर मूल्य सूचीकृत भएको केही समयमै प्रतिकित्ता ५ हजार रुपैयाँसम्म पुगेको थियो।
तर अहिले अवस्था उल्टिएको छ। आगामी भदौ १ गते QII हरूसँग रहेको ७ लाख ७० हजार ६४० कित्ता सेयरको लक-इन अवधि समाप्त हुँदैछ। QII हरूले प्रतिकित्ता ९१२ रुपैयाँका दरले खरिद गरेका ती सेयर नाफा सुरक्षित गर्न बजारमा बिक्री हुन सक्ने अनुमान गर्दै लगानीकर्ताले पछिल्ला दिनमा बिक्री बढाएका छन्। बजार विश्लेषकहरूका अनुसार वास्तविक बिक्री सुरु हुनुअघि नै सम्भावित आपूर्तिलाई बजारले मूल्यमा समेट्न थालेकाले पछिल्लो एक सातामै कम्पनीको सेयर मूल्यमा करिब २५ प्रतिशतको गिरावट आएको हो।

विश्लेषकहरूका अनुसार रिलायन्स स्पिनिङको घटनाले नेपाली पूँजी बजारको अर्को संरचनागत पक्षलाई पनि उजागर गरेको छ। कम्पनीको कुल जारी पूँजीको १०.१४ प्रतिशत मात्रै सर्वसाधारणमा निष्काशन गरिएको थियो। त्यसमध्ये पनि करिब ४० प्रतिशत सेयर QII हरूको लक-इनमा रहेकाले सुरुवाती चरणमा बजारमा उपलब्ध सेयरको परिमाण अत्यन्त न्यून रह्यो। सीमित आपूर्तिका कारण मूल्य अस्वाभाविक रूपमा माथि जानु र लक-इन समाप्त हुनेबित्तिकै सम्भावित आपूर्तिको त्रासले मूल्यमा तीव्र गिरावट आउनु अहिले रिलायन्स स्पिनिङमा स्पष्ट रूपमा देखिएको उनीहरूको भनाइ छ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत्, उत्पादनमूलक (Manufacturing) तथा होटल क्षेत्रका धेरै कम्पनीले पनि कुल जारी पूँजीको करिब १० देखि २० प्रतिशत मात्रै सर्वसाधारणमा निष्काशन गर्ने गरेका छन्। बाँकी अधिकांश सेयर प्रवर्द्धक समूहसँग रहने र ती सेयर तीन वर्षसम्म लक-इनमा रहने व्यवस्था छ। विगतमा पनि यस्ता कम्पनीमा लक-इन अवधि रहँदासम्म सीमित आपूर्तिका कारण मूल्य उल्लेख्य रूपमा बढ्ने र तीन वर्षपछि प्रवर्द्धकको लक-इन समाप्त हुने मिति नजिकिँदा वा समाप्त भएपछि मूल्यमा उल्लेख्य गिरावट आउने प्रवृत्ति देखिएको बजार सहभागीहरू बताउँछन्।
यस्तो अवस्थाले नेपाली पूँजी बजारमा वास्तविक मूल्य निर्धारण (Real Price Discovery) को प्रभावकारितामाथि प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार कम्पनीको मूल्य व्यवसाय, नाफा, भविष्यको सम्भावना र लगानीकर्ताको दीर्घकालीन मूल्याङ्कनभन्दा पनि बजारमा उपलब्ध सेयरको कृत्रिम अभाव तथा पछि एकैपटक आउने ठूलो आपूर्तिको अपेक्षाबाट प्रभावित भइरहेको देखिन्छ। यदि मूल्य निर्धारणको प्रमुख आधार नै सीमित फ्रि–फ्लोट र लक-इन संरचना बन्ने हो भने बजारले कम्पनीको वास्तविक मूल्य प्रतिबिम्बित गर्न सक्दैन।
यही कारण बजार विज्ञहरूले अब नियामक निकायले न्यूनतम फ्रि–फ्लोटको अनुपात, लक-इन अवधिको संरचना तथा ठूलो परिमाणमा लक-इन समाप्त हुने सेयरलाई चरणबद्ध रूपमा कारोबारयोग्य बनाउने व्यवस्थाबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार बजारलाई अझ परिपक्व, स्थिर र वास्तविक मूल्य निर्धारणमा आधारित बनाउन वर्तमान फ्रि–फ्लोट तथा लक-इन व्यवस्थाको समीक्षा अपरिहार्य बन्दै गएको छ।
रिलायन्सको IPO सम्बन्धि जानकारी:
Reliance Spinning Mills ले Book Building Method बाट IPO ल्याएको थियो। यो विधिमा सुरुमा योग्य संस्थागत लगानीकर्ताले आफूले कति मूल्यमा सेयर किन्न तयार छन् भनेर Bid गर्छन्। ती Bid का आधारमा कम्पनीको Cut-off Price रु. ९१२ प्रतिकित्ता तय गरिएको थियो। QIIs ले यही मूल्यमा सेयर खरिद गरेका थिए।
त्यसपछि सर्वसाधारणलाई भने नियमअनुसार १० प्रतिशत छुट दिई रु. ८२०.८० प्रतिकित्ता मा IPO बिक्री गरिएको थियो।
कम्पनीले कुल १९ लाख २६ हजार ६०० कित्ता IPO जारी गरेको थियो। त्यसमध्ये ७ लाख ७० हजार ६४० कित्ता QIIs का लागि छुट्याइएको थियो। बाँकी सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोष (Mutual Fund) का लागि छुट्याइएको थियो।
IPO को विवरण यस्तो थियो:
कुल IPO: १९,२६,६०० कित्ता
QIIs: ७,७०,६४० कित्ता
सर्वसाधारण (Retail): १०,४०,३६४ कित्ता
Mutual Fund: ५७,७९८ कित्ता
कर्मचारी: ५७,७९८ कित्ता
प्रतिकृया