जापानको टोकियो स्टक एक्सचेन्जमा प्रणालीमा समस्या आएर एक दिनभर सेयर कारोबार रोकिएपछि एक्सचेन्जको नेतृत्वदेखि कारोबार प्रणाली विकास गर्ने कम्पनीसम्म कारबाहीमा परेका थिए।
घटनापछि टोकियो स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिए, अन्य अधिकारीको पारिश्रमिक कटौती गरियो र प्रणाली विकास गर्ने फुजित्सुका अधिकारीमाथि पनि पारिश्रमिक कटौतीसहित कारबाही गरिएको थियो।
यो घटना १ अक्टोबर २०२० को हो।
त्यस दिन टोकियो स्टक एक्सचेन्जको ‘एरोहेड’ सेयर कारोबार प्रणालीमा हार्डवेयरसम्बन्धी समस्या आएपछि सबै सूचीकृत सेयरको कारोबार सुरु हुन सकेन। मुख्य उपकरणमा समस्या आएपछि ब्याकअप उपकरणमा स्वतः सर्नुपर्ने व्यवस्था पनि असफल भयो। त्यसपछि एक्सचेन्जले दिनभर कारोबार बन्द गरेको थियो।
टोकियो स्टक एक्सचेन्जका अनुसार यो सन् १९९९ मा पूर्ण रूपमा विद्युतीय कारोबारमा गएयताकै पहिलो पूर्ण दिनको कारोबार अवरोध थियो।
सीईओले नै राजीनामा दिए
घटनापछि टोकियो स्टक एक्सचेन्जका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कोइचिरो मियाहाराले जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिए।
रोयटर्सको रिपोर्टअनुसार जापान एक्सचेन्ज ग्रुपले मियाहाराले टोकियो स्टक एक्सचेन्जको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसहित समूहभित्र सम्हालेका अन्य पदबाट समेत राजीनामा दिएको जनाएको थियो।
उनको स्थानमा जापान एक्सचेन्ज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकिरा कियोताले टोकियो स्टक एक्सचेन्जको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले।
नयाँ प्रमुखको तलब ५० प्रतिशत काटियो
जापान एक्सचेन्ज ग्रुपले नबनियुक्त प्रमुख कार्यकारी अधिकृत अकिरा कियोताको चार महिनासम्म मासिक पारिश्रमिक ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो।
समूहका वरिष्ठ कार्यकारी अधिकृत तथा सूचना प्रविधि प्रमुख र्युसुके योकोयामाको पारिश्रमिक चार महिनासम्म २० प्रतिशत र टोकियो स्टक एक्सचेन्जका कार्यकारी अधिकृत हिरोकी कावाईको १० प्रतिशत कटौती गरिएको थियो।
जापान एक्सचेन्ज ग्रुपले घटनासम्बन्धी जिम्मेवारी निर्धारण गर्दै यी कारबाही गरेको थियो।
प्रणाली बनाउने फुजित्सुका अधिकारीमाथि पनि कारबाही
टोकियो स्टक एक्सचेन्जको ‘एरोहेड’ कारोबार प्रणाली विकास गर्ने फुजित्सु पनि घटनापछि जिम्मेवारीको दायरामा आयो।
छानबिनमा मुख्य उपकरणको मेमोरीमा समस्या आएको र त्यसपछि ब्याकअप उपकरणमा स्वतः सर्ने प्रक्रिया असफल भएको पाइएको थियो। प्रणालीको संरचना, उपकरणको कन्फिगरेसन र परीक्षण तथा सञ्चालन तयारीमा पनि कमजोरी देखिएको थियो।
फुजित्सुले ३ डिसेम्बर २०२० मा घटनासँग सम्बन्धित आफ्ना पाँच अधिकारीमाथि पारिश्रमिक कटौतीसहित अनुशासनात्मक कारबाही गरेको थियो। कम्पनीका अध्यक्ष ताकाहिटो टोकिताको चार महिनासम्म ५० प्रतिशत र उपाध्यक्ष हिदेनोरी फुर्ताको ३० प्रतिशत पारिश्रमिक कटौती गरिएको थियो।
अन्य तीन कार्यकारी अधिकारीको पारिश्रमिक पनि १० देखि २० प्रतिशतसम्म कटौती गरिएको थियो।
फुजित्सुले प्रणालीको पुनः परीक्षण तथा गुणस्तर नियन्त्रण संरचना थप बलियो बनाउने पनि जनाएको थियो।
नियामकले एक्सचेन्जलाई सुधार आदेश दियो
घटनापछि जापानको वित्तीय सेवा एजेन्सीले जापान एक्सचेन्ज ग्रुप र टोकियो स्टक एक्सचेन्जलाई व्यवसाय सुधारसम्बन्धी आदेश दिएको थियो।
जापानको वित्तीय सेवा एजेन्सीको आदेशअनुसार टोकियो स्टक एक्सचेन्जसँग प्रणाली असफल हुँदा प्रयोग गर्नुपर्ने ब्याकअप व्यवस्था र कारोबार पुनः सुरु गर्ने प्रक्रियामा पर्याप्त तयारी नभएको पाइएको थियो।
नियामकले ब्याकअप प्रणालीको सुधार तथा परीक्षण गर्न र प्रणालीमा समस्या आएपछि कारोबार कसरी रोक्ने तथा पुनः सुरु गर्ने भन्ने स्पष्ट प्रक्रिया बनाउन निर्देशन दिएको थियो।
समस्या एउटा उपकरण बिग्रिएर सुरु भएको थियो
टोकियो स्टक एक्सचेन्जको आधिकारिक विवरणअनुसार बिहान ७:०४ बजे प्रणालीमा असामान्य समस्या पहिचान भएको थियो। त्यसपछि बिहान ७:५५ बजे फुजित्सुसँगको जाँचमा मेमोरी मोड्युलमा समस्या आएको र त्यसका कारण पहिलो उपकरणको नियन्त्रण प्रणाली असफल भएको पत्ता लागेको थियो।
पहिलो उपकरणमा समस्या आएपछि अर्को ब्याकअप उपकरणमा स्वतः सर्नुपर्ने व्यवस्था थियो। तर स्वचालित रूपमा ब्याकअपमा जान नसकेपछि कारोबार प्रणाली प्रभावित भयो।
बजार खुल्ने समयसम्म समस्या समाधान हुने निश्चित नभएपछि बिहान ८:३६ बजे टोकियो स्टक एक्सचेन्जले त्यस दिन सबै सूचीकृत सेयरको कारोबार सुरु नगर्ने निर्णय गरेको थियो। पछि बिहान ११:४५ बजे सोही दिन कारोबार पुनः सुरु नगर्ने अन्तिम निर्णय गरिएको थियो।
त्यसपछि कारोबार रोक्ने र पुनः सुरु गर्ने नयाँ प्रक्रिया बनाइयो
घटनापछि टोकियो स्टक एक्सचेन्जले यस्ता प्रणालीगत समस्या दोहोरिएमा कारोबार कसरी रोक्ने र पुनः सुरु गर्ने भन्ने विषयमा नयाँ व्यवस्था बनाउन समिति गठन गर्यो।
समितिमा बजार सहभागी, लगानी बैंक, सूचना प्रविधि कम्पनी तथा नियामकसँग सम्बन्धित प्रतिनिधि सहभागी थिए। यसको उद्देश्य प्रणालीमा समस्या आएपछि बजार सञ्चालनसम्बन्धी निर्णय कसरी गर्ने भन्ने प्रक्रिया स्पष्ट बनाउनु थियो।
एजेन्सीहरुको सहयोगमा

प्रतिकृया
नेपालको पनि तेस्तै त भयो नि पुर्व जानकारी बिना नै बन्द भएको छ । जापन र नेपालको उस्तै उस्तै हो