प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेको चर्चा चलिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पद पनि जोखिममा परेको भन्ने अड्कलबाजी राजनीतिक वृत्तमा तीव्र बनेको छ। प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भएको भेट, सरकारभित्र बढ्दो असन्तुष्टि र केही मन्त्रीहरूको कार्यसम्पादनमाथि उठेका प्रश्नहरूले यो विषयलाई थप चर्चामा ल्याएको छ।
सरकार गठनपछि श्रममन्त्री दीपककुमार शाहलाई हटाइएको थियो भने गृहमन्त्री सुदन गुरुङ पनि एकपटक निलम्बनमा परेर पुनः जिम्मेवारीमा फर्किएका थिए। यही पृष्ठभूमिमा अब अर्थमन्त्री वाग्लेको भविष्यबारे पनि अनेक अड्कलबाजी भइरहेका छन्।
किन बढ्यो स्वर्णिम वाग्लेमाथि दबाब?
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी–व्यवसायीसँग अर्थमन्त्रीको प्रत्यक्ष सहभागिताविना नै भेटघाट गरेको विषय चर्चामा रह्यो। त्यसलगत्तै प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रीको सचिवालयबाट सेयर बजार र अर्थतन्त्रबारे छुट्टाछुट्टै सन्देश सार्वजनिक हुनु पनि सरकारभित्र समन्वय कमजोर भएको संकेतका रूपमा हेरिएको छ।
त्यसैगरी बजेटपछि अपेक्षित सुधार नदेखिएको, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नयाँ कर, विद्युत् महसुलमा थप कर, विद्युतीय सवारीको करसम्बन्धी सूचना चुहावट लगायतका विषयलाई लिएर अर्थमन्त्रीको कार्यशैलीमाथि आलोचना बढेको छ।
हटाउन सजिलो किन छैन?
राजनीतिक रूपमा भने डा. स्वर्णिम वाग्लेलाई हटाउने निर्णय सहज देखिँदैन।
रास्वपाको आर्थिक नीति निर्माणमा उनी मुख्य योजनाकारमध्ये एक मानिन्छन्। पार्टी सरकारमा आउनुअघि नै उनलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरिएको थियो। पार्टीका नीति, आर्थिक दृष्टिकोण र घोषणापत्र निर्माणमा उनको भूमिका महत्वपूर्ण रहेको मानिन्छ।
यसबाहेक उनी अन्तर्राष्ट्रिय अनुभव भएका अर्थशास्त्री हुन्। विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव, सार्वजनिक वित्त व्यवस्थापनको ज्ञान तथा अन्तर्राष्ट्रिय निकायसँगको सम्बन्धलाई पनि उनको बलियो पक्षका रूपमा हेरिन्छ।
प्रधानमन्त्रीसँग अधिकार, तर राजनीतिक चुनौती पनि
संवैधानिक रूपमा प्रधानमन्त्रीसँग मन्त्री हटाउने अधिकार छ। सरकारको सफलता वा असफलताको मुख्य जिम्मेवारी प्रधानमन्त्रीमै रहने भएकाले आवश्यक ठानेमा मन्त्रिपरिषद् पुनर्गठन गर्न सक्ने अधिकार पनि उनैसँग हुन्छ।
तर अर्थमन्त्री परिवर्तन गर्दा त्यसको राजनीतिक सन्देश, रास्वपासँगको सम्बन्ध र विकल्पका रूपमा कसलाई ल्याउने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बन्ने देखिन्छ।
सेयर बजारमा कस्तो असर पर्ला?
सेयर बजारका लगानीकर्ताबीच डा. स्वर्णिम वाग्लेको कार्यकालप्रति मिश्रित धारणा देखिएको छ। प्रारम्भमा उनले ब्रोकरहरूसँग छलफल गरेपछि बजारमा केही सुधार देखिए पनि त्यसपछि बजार निरन्तर दबाबमा रह्यो।
सेयर बजारप्रति उनले दिएका केही अभिव्यक्तिको समेत आलोचना भएको थियो। यद्यपि पछिल्लो समय अर्थमन्त्रीको सचिवालयले लगानीकर्तालाई लक्षित गर्दै सकारात्मक सन्देश दिन थालेको थियो भने धितोपत्र बोर्डले सार्वजनिक गरेको सुधार योजनालाई कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

प्रतिकृया