सेयर बजारमा टेक्निकल एनालिसिसलाई धेरैले भविष्य बताउने माध्यमका रूपमा बुझ्ने गरे पनि यसको वास्तविक उद्देश्य बजारको सम्भावित दिशा र लगानीकर्ताको मनोविज्ञान बुझ्नु रहेको अनुभवी बजार विश्लेषक अशोक कुमार शाहले बताएका छन्।
बजारको चिरफार प्रिमियम पोडकास्टमा बोल्दै दुई दशकभन्दा बढी समयदेखि पूँजी बजारमा सक्रिय शाहले टेक्निकल एनालिसिसको इतिहास, डाउ थ्योरी, स्मार्ट मनीको रणनीति, नेपालमा देखिएका अभ्यास तथा सफल ट्रेडिङका आधारबारे चर्चा गरेका छन्।
उनका अनुसार टेक्निकल एनालिसिसको सुरुवात जापानका धान व्यापारीहरूले मूल्यको उतारचढाव अध्ययन गर्न प्रयोग गरेको क्यान्डलस्टिक चार्टबाट भएको हो। पछि चार्ल्स डाउले डाउ थ्योरीमार्फत यसको आधुनिक आधार विकास गरेका थिए।
शाहले डाउ थ्योरीको प्रमुख सिद्धान्तअनुसार बजारको मूल्यले उपलब्ध सबै जानकारीलाई प्रतिबिम्बित गर्ने भएकाले समाचारभन्दा मूल्य र कारोबार (भोल्युम) को व्यवहारलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार बजार सामान्यतया बुलिस, बेरिस र साइडवेज गरी तीन प्रकारका ट्रेन्डमा चल्ने भए पनि कुनै पनि ट्रेन्ड सीधै माथि वा तल नजाने भएकाले सामान्य करेक्सनलाई ट्रेन्ड परिवर्तनका रूपमा बुझ्नु गलत हुन्छ।
स्मार्ट मनी र रिटेल लगानीकर्ताबीचको व्यवहार पनि फरक हुने उनको भनाइ छ। उनका अनुसार स्मार्ट मनीले बजारमा डर फैलिएको बेला खरिद गर्ने र अत्यधिक उत्साह भएको बेला बिक्री गर्ने रणनीति अपनाउँछ, जबकि धेरै रिटेल लगानीकर्ता त्यसको ठीक उल्टो व्यवहार गर्ने गर्छन्।
नेपालमा टेक्निकल एनालिसिसको प्रयोगबारे बोल्दै शाहले पर्याप्त कारोबार, राम्रो लिक्विडिटी र मूल्य इतिहास भएका कम्पनीमा मात्र चार्ट विश्लेषण प्रभावकारी हुने बताए। सबै कम्पनीमा एउटै तरिकाले टेक्निकल एनालिसिस लागू गर्नु उचित नहुने उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमा आधारबिनै मूल्य घोषणा गर्ने, एउटै इन्डिकेटरका आधारमा निश्चित निष्कर्ष निकाल्ने र बजारलाई निश्चित रूपमा भविष्यवाणी गर्न सकिन्छ भन्ने सोचले धेरै लगानीकर्तालाई भ्रमित बनाइरहेको उल्लेख गरे।
सफल ट्रेडर बन्न ट्रेन्ड पहिचान, सपोर्ट र रेजिस्टेन्सको ज्ञान, जोखिम व्यवस्थापन, उचित रिवार्ड–रिस्क अनुपात तथा भावनाभन्दा नियमअनुसार निर्णय गर्ने बानी आवश्यक रहेको शाहले बताए। उनका अनुसार सफल ट्रेडर भनेको सबै कारोबारमा नाफा गर्ने व्यक्ति नभई गलत निर्णय हुँदा पनि सानो नोक्सानीमै बाहिर निस्कन सक्ने व्यक्ति हो।
शाहका अनुसार टेक्निकल एनालिसिस कुनै जादु वा भविष्यवाणी गर्ने माध्यम होइन। यसले बजारको निश्चित गन्तव्य होइन, सम्भावित दिशा संकेत गर्छ। दीर्घकालीन सफलताका लागि चार्टभन्दा पनि अनुशासन, जोखिम व्यवस्थापन र सही मानसिकता बढी महत्वपूर्ण हुने उनको निष्कर्ष छ।



![bizshort | अब सेयर बजारमा के छ सम्भावना ? [भिडियोसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-are-the-prospects-in-the-stock-market-now Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | अब सेयर बजारमा के छ सम्भावना ? [भिडियोसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-are-the-prospects-in-the-stock-market-now Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | अब सेयर बजारमा के छ सम्भावना ? [भिडियोसहित] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-are-the-prospects-in-the-stock-market-now Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)

![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया