नापनक्सा भएको करिब ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक जोगबुढा गाविस–१ मा सुकुम्बासी समस्या समाधान आयोगले २०४५ सालमा नापनक्सा गरेको थियो। तर त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्न नसक्दा स्थानीय लामो समयसम्म जग्गाधनी पुर्जाबाट वञ्चित थिए।
त्यसपछि २०५५ साल पुस २६ गते पुनः आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन। खजुरानी र तुलाभाडी गाउँका स्थानीय विगतका आयोगबाट सुरु भएको काम पूरा हुने प्रतीक्षामा थिए।
हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार विगतमा अधुरो रहेका कामलाई निरन्तरता दिँदै प्रक्रिया अघि बढाइएको हो। सोही क्रममा राजस्व संकलन गरी विगतमा नापनक्सा भइसकेका जग्गाको प्रक्रिया पूरा गरेर १२ परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
लामो समयपछि आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा पाएपछि स्थानीयले राहत महसुस गरेका छन्।
प्रतिकृया