३६ वर्षदेखि बिग्रिएको व्यवस्था चार महिनामै बदलिँदैन: रास्वपा महामन्त्री आचार्य

३६ वर्षदेखि बिग्रिएको व्यवस्था चार महिनामै बदलिँदैन: रास्वपा महामन्त्री आचार्य
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले लामो समयदेखि मुलुकमा थुप्रिएको बेथिति अन्त्य गरी दिगो परिवर्तन ल्याउन सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताएका छन्।

रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा आचार्यले सरकारको चार महिनाको कामकै आधारमा सम्पूर्ण मूल्याङ्कन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

“छत्तीस वर्षदेखि बिग्रिएको व्यवस्था चार महिनामै परिवर्तन हुन्छ भन्ने हुँदैन । छिटो परिणाम देखाउने नाममा गरिएको काम दिगो नहुन सक्छ । देश बलियो बनाउने आधार तयार गर्न समय लाग्छ”, महामन्त्री आचार्यले भने ।

उनले देश निर्माणका लागि तत्काल परिणाम खोज्नुभन्दा दीर्घकालीन आधार तयार गर्नुपर्नेमा जोड दिए। साथै, रास्वपा तथा सरकारका काममा कमजोरी देखिए खुलेर प्रश्न र खबरदारी गर्न नागरिकलाई आग्रह गरे।

“हामीले गलत काम गर्‍यौँ भने प्रश्न गर्न नहिचकिचाउनुहोस् । तपाईँहरूको प्रश्नले हामीलाई सच्याउने र बलियो बनाउने काम गर्छ”, उनले भने ।

सरकारप्रति नागरिकको प्रश्न र आलोचनालाई विरोधका रूपमा मात्र बुझ्न नहुने आचार्यको भनाइ थियो। नागरिकको अपेक्षा धेरै भएकाले सरकारमाथि खबरदारी भइरहेको उनले बताए।

प्रतिनिधिसभा सदस्यसमेत रहेका आचार्यले विगतका सरकारका समयमा विभिन्न अनियमितता तथा काण्डसँग सम्बन्धित समाचार आउने गरेको दाबी गर्दै पछिल्लो चार महिनामा त्यस्तो अवस्था नरहेको बताए। केन्द्र सरकारले अघि बढाउन खोजेका कतिपय काममा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले ग्यास तथा मल वितरणलगायतका विषयमा समस्या सिर्जना गरिएको बताए।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा विद्यमान बेथिति अन्त्य नगरेसम्म अपेक्षित परिवर्तन सम्भव नहुने बताए। आफूहरू सरकारको विरोध गर्न नभई नागरिकका समस्या सरकारसम्म पुर्‍याउन र आवश्यक ठाउँमा खबरदारी गर्न सक्रिय रहेको उनले स्पष्ट पारे।

केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग नागरिकको ठूलो अपेक्षा रहेकाले ती अपेक्षा पूरा गर्न सरकार र पार्टीले जनतासँग निरन्तर संवाद गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य डा. लेखजङ्ग थापा, तौफिक अहमद खाँ, मञ्जु भुसाल, पुनम अग्रवाल र सुशान्त वैदिकलगायतले पनि धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स