नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विशेषगरी कर्जा नोक्सानी व्यवस्थापनमा आएको उल्लेख्य सुधार (इम्पेयरमेन्ट चार्जको कमी) र खुद ब्याज आम्दानीमा भएको सामान्य वृद्धिका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
चौथो त्रैमाससम्ममा नबिल बैंकको मुख्य आम्दानीको स्रोत अर्थात् खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.३२ प्रतिशतले बढेर २२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यता, बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा राम्रो सुधार गर्दा इम्पेयरमेन्ट चार्ज ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६८ करोड रुपैयाँमा आएको छ।
इम्पेयरमेन्ट चार्ज घट्नुले बैंकको सञ्चालन मुनाफालाई बलियो बनाउन मद्दत गरेको छ, जसको फलस्वरुप सञ्चालन मुनाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा (NPL) अनुपात पनि ०.२८ प्रतिशतबिन्दुले घटेर ४.२० प्रतिशतमा सीमित भएको छ। खराब कर्जा घट्नु र इम्पेयरमेन्ट चार्जमा सुधार आउनुले बैंकको कर्जा असुली प्रक्रिया प्रभावकारी बन्दै गएको संकेत गर्दछ।
समीक्षा अवधिमा बैंकले व्यवसाय विस्तारमा पनि आक्रामक रणनीति अपनाएको देखिन्छ। यस अवधिमा बैंकले ५ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेपतर्फ १२.९५ प्रतिशत र कर्जा प्रवाहतर्फ १२ प्रतिशतको वृद्धि देखिएको छ।
बैंकको चुक्ता पूँजी ३२ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने सेयरधनीलाई लाभांश बाँड्न मिल्ने वितरणयोग्य नाफा ३४.०७ प्रतिशतले बढेर ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा तथा कोष (Reserve and Surplus) मा ३९ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) ६.४७ रुपैयाँले बढेर २८ रुपैयाँ ३६ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा रहेको छ। शेयरधनीहरूले विशेष चासो दिने प्रतिशेयर वितरणयोग्य नाफा (Distributable EPS) १९ रुपैयाँ १० पैसा कायम भएको छ, जसले बैंक लगानीकर्ताहरूलाई आगामी दिनमा आकर्षक र लाभांश वितरण गर्न सक्ने निकै बलियो अवस्थामा रहेको देखाउँछ।

सिद्धार्थ बैंकको खुद नाफामा वृद्धि, खराब कर्जा बढ्दा लाभांश क्षमतामा भने दबाब
प्रतिकृया