सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४.५ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खराब कर्जा व्यवस्थापनका लागि छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्ज बढे तापनि, खुद फि तथा कमिसन आम्दानी र सञ्चालन आम्दानीमा आएको सुधारका कारण बैंकको खुद नाफा बढेको हो।
चौथो त्रैमाससम्ममा सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ८.६ प्रतिशतले बढेर १२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यता, कर्जा असुलीमा केही समस्या देखिएसँगै इम्पेयरमेन्ट चार्ज १ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९१ प्रतिशतबिन्दुले बढेर ३.५३ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले व्यवसाय विस्तारमा भने राम्रो प्रगति गरेको छ। बैंकले ३ खर्ब २७ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन १३.१ प्रतिशत र कर्जा प्रवाह ८.७ प्रतिशतले वृद्धि हुनुले बैंकप्रतिको जनविश्वास र कर्जा लगानीको विस्तारलाई सकारात्मक रूपमा देखाउँछ।
हाल बैंकको चुक्ता पूँजी १८ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने सेयरधनीलाई लाभांश बाँड्न मिल्ने वितरणयोग्य नाफा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिसेयर आम्दानी (EPS) ०.३ रुपैयाँले बढेर २३.०६ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ।
समग्रमा, बैंकले व्यवसाय विस्तार र खुद नाफामा वृद्धि गरे पनि लगानीकर्ताले पाउने लाभांश निर्धारण गर्ने ‘वितरणयोग्य नाफा’ घटेको छ। जसका कारण वितरणयोग्य प्रतिसेयर आम्दानी (Distributable EPS) ११.५३ रुपैयाँ मात्र रहेको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा ८३% को उछाल, किन बढ्यो ?
प्रतिकृया