४ संसदीय समितिको बैठक आज बस्दै, विधेयकदेखि विकास आयोजना र बाल सुधारगृहसम्मका विषयमा छलफल हुने

४ संसदीय समितिको बैठक आज बस्दै, विधेयकदेखि विकास आयोजना र बाल सुधारगृहसम्मका विषयमा छलफल हुने

संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति तथा कानुन, न्याय तथा मानव अधिकार समितिले आ-आफ्ना कार्यसूचीअनुसार विभिन्न विषयमा छलफल गर्ने भएका छन्।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची रहेको छ। उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई बैठकमा बोलाइएको छ।

बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाहीबारे जानकारी लिने कार्यसूची तय गरिएको छ। साथै १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको प्रगतिबारे पनि छलफल हुनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा मधेस प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा बाल सुधारगृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ माथि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स