बजारमा तरलता बढी थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। आइतबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि यो रकम प्रशोचन गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् भने निक्षेप संकलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैंकले जनाएको छ।
भदौ २९ गतेको तथ्याङ्क अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। तर, सोही अवधिमा जम्मा ५२ खर्ब १६ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरिएकाले बैंकहरूसँग ७ खर्बभन्दा बढी लगानीयोग्य पुँजी (तरलता) बाँकी रहेको छ।
केन्द्रीय बैंकका अनुसार भदौ २९ सम्म बैंक तथा वित्तीय संस्थाहरूले ७८.७९ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका छन्, जुन नियमअनुसार ९० प्रतिशतसम्म पुग्न सक्छ। तर, कर्जाको माग नहुँदा बैंकहरूले लगानी बढाउन सकिरहेका छैनन्, जसकारण उनीहरू सस्तो ब्याजमा केन्द्रीय बैंकलाई निक्षेप बुझाउन बाध्य छन्। यही कारणले राष्ट्र बैंकले लगातार निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गरिरहेको छ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता तान्ने नीति अवलम्बन गर्छ।



















प्रतिकृया