बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ। केन्द्रीय बैंकले साउन २७ गते निक्षेप संकलन उपकरण प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न पछिल्लो समय लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसक्रममा आज ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ। राष्ट्र बैंकका अनुसार बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिनेछ। यस उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।
बोलकबोल आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म राख्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकले यो पटक ३५ दिने निक्षेप संकलन उपकरणमार्फत रकम उठाउन लागेको हो। उक्त उपकरणको साँवा तथा ब्याज आगामी भदौ ३१ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिकृया