नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनबारे नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।
राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषय जानकारीमा आएको र विद्यमान कानुनी व्यवस्थाका सम्बन्धमा आवश्यक राय तथा सुझाव लिई छलफल भइरहेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार हाल बैंकको तरलताको अवस्था तथा अन्य वित्तीय सबलताका परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा कुनै प्रकारको जटिलता उत्पन्न हुने अवस्था नरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
हाल काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै राष्ट्र बैंकले बैंकको दैनिक सञ्चालनको अवस्था, मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यलाई आधार बनाएर थप छलफल तथा कानुनी राय लिने जनाएको छ।
यी विषयमा प्राप्त राय तथा कानुनी व्यवस्थाका आधारमा सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय कानुनबमोजिम अवलम्बन गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया