राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। उनले आजैदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने घोषणा गर्दै महामन्त्रीसमक्ष राजीनामा दिएका हुन्।
हुमागाईँ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनले १० हजार ५७३ मत प्राप्त गरेका थिए।
राजीनामा पत्रमार्फत उनले पार्टी छाड्नुका सात कारण सार्वजनिक गरेका छन्। उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार, सदस्यता वितरण तथा आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएको उनको आरोप छ।
उनका अनुसार वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट हालै प्रवेश गरेका व्यक्तिलाई प्राथमिकता दिइएको छ। “दुई–चार दिनअघिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका वा सामाजिक अभियन्ता भन्दै हिँडिरहेका व्यक्तिलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको छ,” उनले पत्रमा उल्लेख गरेका छन्।
पार्टीले सुरुमा ‘जान्ने र योग्य’ उम्मेदवार छनोट गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा सीमित व्यक्तिलाई खुसी पार्ने, नेतृत्व वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’ का पात्रलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ प्राथमिकता दिइएको उनको दाबी छ। यस्तो चलखेलले भोलिको संसद् चटकदार, विकृत र अवसरवादी संरचनामा परिणत हुने संकेत देखिएको उनले उल्लेख गरेका छन्।
पछिल्लो समय उम्मेदवार चयन प्रक्रियामा बढ्दो असन्तुष्टि र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै पार्टी छाड्ने क्रम बढिरहेको छ। हिजो मात्र रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी त्यागेका थिए।















![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया