क्यानडामा मासिक पाँच लाखको जागिर छाडेर सन्यासी बनेका भाइरल बाबा आश्रमबाटै निकालिए
१४४ वर्षपछि भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा चर्चामा आएका आईआईटियन बाबा अभय सिंहलाई आश्रमबाट निष्कासित गरिएको छ। एयरोस्पेस इन्जिनियर पेसा छोडेर सन्यास लिएका अभयलाई जुना अखडाले गुरुको अपमान गरेको आरोपमा बाहिर निकालेको हो।
इन्स्टाग्राममा भाइरल भएको एक भिडियोमा अभयले आफ्ना गुरु महानन्त स्वामेश्वर पुरीलाई ‘पागल’ भनेका थिए। त्यस्तै, आफ्ना बुबालाई उनले पौराणिक कथाका दानव राजा ‘हिरण्यकश्यप’ को उपमा दिएका थिए। उक्त भिडियो भाइरल भएपछि गुरुको अपमान गरेको भन्दै आश्रमले उनलाई शनिबार निष्कासन गरेको हो।
आश्रमले गुरु-शिष्य परम्पराको उल्लङ्घन गरेको भन्दै उनलाई आश्रम क्षेत्र वरपर पनि रहन नपाउने निर्णय गरेको छ। गुरुको सम्मान नगर्ने व्यक्ति सनातन धर्मका प्रतिनिधि हुन नसक्ने ठहर गर्दै, नियम पालना नगरेसम्म उनलाई आश्रम प्रवेशमा प्रतिबन्ध लगाइएको हो।
भारतको हरियाणाका अभय सिंह एयरोस्पेस इन्जिनियरिङ पेसाका थिए। भारतको प्रतिष्ठित इन्जिनियरिङ कलेज आईआईटी बम्बई (IIT Bombay) का पूर्वविद्यार्थी अभयले क्यानडामा मासिक करिब चार लाख ८० हजार रुपैयाँ कमाउने जागिर छाडेर सन्यासको मार्ग अपनाएका हुन्।
महाकुम्भ मेला सुरु भएसँगै अभय सिंहले विभिन्न भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका थिए। सोही क्रममा उनले गुरुलाई ‘पागल’को संज्ञा दिएका कारण विवाद सुरु भएको हो।
आश्रमबाट निकालिए पनि उनले महाकुम्भ मेला भने छाडेका छैनन्। हाल उनी ज्योतिषहरूको शिविरमा शरण लिएर बसिरहेका छन्।