फिफा रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले अर्जेन्टिना र इजिप्टबीचको विश्वकप अन्तिम १६ को खेलमा रेफ्रीको निर्णयमाथि उठाइएको पूर्वाग्रहको आरोप अस्वीकार गरेका छन्। उनले खेल अधिकारीहरूले कुनै बाह्य प्रभावबिना पूर्ण स्वतन्त्र रूपमा निर्णय लिने बताएका छन्।
अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरेको उक्त खेलपछि इजिप्टले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेल अधिकारीहरूको निष्पक्षतामाथि प्रश्न उठाएको थियो। त्यसप्रति प्रतिक्रिया दिँदै कोलिनाले रेफ्रीहरूको इमानदारितामाथि आधारहीन आरोप लगाउनु अनुचित भएको बताएका हुन्।
बिहीबार फिफाको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा उनले रेफ्रीहरूको निर्णयबारे आलोचना हुनु फुटबलको स्वाभाविक पक्ष भए पनि त्यसलाई आधार बनाएर उनीहरूको निष्ठामाथि प्रश्न उठाउनु स्वीकार्य नहुने उल्लेख गरे।
‘थोरै समयभित्र धेरै संख्यामा खेलहरू खेलाइँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो,’ कोलिनाले भने, ‘जब त्यसो हुन्छ । रेफ्रीहरू अर्को खेलको लागि पूर्ण रूपमा तयार हुन अझ बढी मेहनत गर्न तयार रहन्छन् ।’
रेफ्रीमाथि लगाइने यस्ता आरोपले उनीहरू र उनीहरूका परिवारसमेत धम्कीको जोखिममा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘निश्चय पनि निर्णयहरूको बारेमा रचनात्मक छलफल सधैं फुटबलको हिस्सा रहनेछ, तर आधारहीन आरोपहरूको हाम्रो खेलमा कुनै स्थान छैन ।’
कोलिनाले फिफा विश्वकपका खेल अधिकारीहरूको निर्णयमा कुनै पनि व्यक्ति वा पदाधिकारीको प्रभाव नपर्ने स्पष्ट पारे। उनले थपे, ‘फिफा विश्वकपका खेल अधिकारीहरूको इमानदारितामाथि कसैले प्रश्न उठाउन सक्दैन । त्यसैगरी, फिफाको रेफ्री निर्णयलाई कसैले प्रभाव पार्न सक्छ भन्नु पनि गलत हो, यहाँसम्म कि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि यसलाई प्रभाव पार्न सक्नुहुन्न । खेल अधिकारीहरूले इमानदार निर्णयहरू लिन्छन् । खेलाडी र प्रशिक्षकहरू जस्तै उनीहरूले पनि सधैं आफ्नो उत्कृष्ट दिने प्रयास गर्छन् ।’





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया