हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज (जेठ २७ गते) मंगलबार रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ २८ गते, बुधबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेप्सेमा कारोबार गरी सेयर कायम गर्ने लगानीकर्ताहरूले कम्पनीको आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आठौँ वार्षिक साधारण सभा असार १० गते, मंगलबार आयोजना गर्नेछ। सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान १०:३० बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य प्रस्तावहरू पनि सभामा पेश गरिने छन्।