राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले बुधबार, असोज २७ गते जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा सुनारका विषयमा उठेका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको जनाइएको छ। सञ्चारमाध्यममार्फत सार्वजनिक भएका यी विषयलाई आरोपका रूपमा उल्लेख गर्दै पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ।
महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
सुनारसँग सम्बन्धित विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको रास्वपाले जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन टुङ्गो नलागेसम्म उनलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको हो।
रास्वपाले सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वाससमेत व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख छ। राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने रास्वपाले जनाएको छ।


प्रतिकृया