राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान समस्याको समाधान चुनाव मात्र नभए पनि देशलाई थप संकटबाट जोगाउन पार्टी चुनावमा होमिएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चुनावले देशका समस्या पूर्ण रूपमा समाधान गर्न नसक्ने भए पनि मुलुकलाई बचाउन चुनाव आवश्यक रहेको बताए।
उनले नेपालको निर्णायक शक्ति नेपाली जनताको हातमै राख्न राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नवीनतम सम्झौता आवश्यक रहेको उल्लेख गर्दै त्यस्तो सहमति बिना मुलुकको समस्या समाधान हुन नसक्ने धारणा राखे। लिङ्देनले राप्रपा एक प्रजातान्त्रिक पार्टी भएकाले विद्रोहको बाटोभन्दा चुनावलाई उपयोग गर्ने नीति लिएको स्पष्ट पारे।
अध्यक्ष लिङ्देनले हाल मुलुक पूर्वाधार विकासभन्दा पनि देश नै रहने कि नरहने भन्ने गम्भीर अवस्थामा पुगेको बताए। राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण बोकेको पार्टी भएकाले अवसर पाए देशलाई सफल बनाएरै छाड्ने दाबी गरे। साथै, छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको उनको जिकिर थियो।

















प्रतिकृया