प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौती समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा औंल्याए

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौती समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा औंल्याए

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौती समाधान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्। बिहीबार वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा उनले स्वच्छ हावा र प्रकृति संरक्षणका लागि बेमेल रहेका मुलुकहरू पनि सहकार्यमा जुट्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले जलवायु परिवर्तनका प्रभावहरू सामना गर्न नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै जलवायु वित्तको आवश्यकता रहेको बताए। उनले जमिन सुख्खा हुँदै जानुका कारण कृषि क्षेत्रमा पर्ने प्रतिकूल असरलाई न्यून गर्न र डढेलो नियन्त्रणका लागि वन तथा सञ्चार मन्त्रालयले जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याए। साथै, मानव निर्मित प्रदूषण रोक्न हरेक समुदाय सचेत बन्नुपर्नेमा पनि उनले जोड दिए।

नेपालले जलवायु क्षतिपूर्ति पाउनुपर्ने माग संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा राखेको स्मरण गराउँदै प्रधानमन्त्रीले नेपालले वातावरण संरक्षणका लागि १७ प्रतिशत भूभाग संरक्षित गरेको जानकारी गराए।

२९ औँ विश्व जलवायु सम्मेलन गत कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा सम्पन्न भएको थियो। सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायु परिवर्तनसम्बन्धी नेपालले अपनाउनुपर्ने रणनीतिका विषयमा समीक्षा गरियो। राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा सहभागिता जनाएका थिए।

समग्र कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसदहरू, संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि, नीति निर्माता, र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स