संघीय संसद् अन्तर्गतका ९ वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक ८ भदौका लागि तय भएको र राष्ट्रिय सभाको बैठक शुक्रबार बस्ने भएकाले आज विभिन्न समितिका बैठक एकैपटक बस्न लागेका हुन्।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा ‘पर्यटन विधेयक, २०८१’ बारे होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल हुनेछ।
बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची छ।
त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिले नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गर्नेछ।
पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्नेछ।
सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणबारे छलफल हुनेछ।
अपराह्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिनेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया