प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा मन्त्रालयले गर्ने मुख्य काम र हासिल गर्ने उपलब्धिलाई लक्षित गर्दै १४ मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गर्दै प्रति आदानप्रदान गरेका हुन्। सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य तथा उपलब्धिलाई समेटिएको छ।
प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गर्नेमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन रहेका छन्।
त्यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग सम्झौता गरेका छन्।
पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन्। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव भने संसदमा सहभागी हुनुपर्ने भएकाले कार्यसम्पादन सम्झौता कार्यक्रममा उपस्थित हुन नसकेका हुन्।
यसैगरी, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि आजै प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन्।











प्रतिकृया