नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १८० दिन अवधिका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो।
बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ। निक्षेप संकलन उपकरणको निष्काशन मिति पनि आजै तोकिएको छ।
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज आगामी फागुन ३ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि रकम प्रस्ताव गर्न सकिनेछ। त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकममा अधिकतम आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था छ।
निक्षेप संकलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकले निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरको बोललाई पहिलो प्राथमिकता दिनेछ। त्यसपछि क्रमशः आह्वान गरिएको रकमसम्म बोल स्वीकार गरिनेछ। समान ब्याजदरमा परेको बोलको रकम कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँड हुनेछ।
आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिसँग रहनेछ। स्वीकृत बोलअनुसारको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ।
बोल स्वीकृत भएको संस्थाको खातामा उपकरण निष्काशन हुने दिन पर्याप्त मौज्दात नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइनेछ।
निक्षेपको भुक्तानी मितिमा तोकिएको ब्याजसहितको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन गरिएको रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोका रूपमा गणना गर्न सकिनेछ। तर यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइने छैन। राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

प्रतिकृया