कुलमान घिसिङलाई हटाउन उर्जामन्त्री खड्काको प्रयास तीव्र, तेश्रो पटक सोधे स्पष्टीकरण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन प्रक्रिया अघि बढाएका छन्। उर्जा सचिव सुरेश आचार्यमार्फत तेस्रो पटक ९ बुँदे स्पष्टीकरण पत्र पठाउँदै खड्काले “तपाईंलाई किन पदबाट नहटाउने?” भनी प्रश्न गरेका छन्।
यसअघि दुई पटक स्पष्टीकरण सोधिसकेका खड्काले कुलमानमाथि कार्यसम्पादनमा असहयोग गरेको, मन्त्रीपरिषद्का निर्णय कार्यान्वयन नगरेको र अपुरो स्पष्टीकरण बुझाएको जस्ता आरोप लगाएका छन्।
पछिल्लो पटक विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकमा उनले मन्त्री खड्काको निर्देशनविपरीत ‘डेडिकेटेड ट्रङ्कलाइन’ विवादसम्बन्धी समितिलाई विवरण उपलब्ध गराउन अस्वीकार गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। उनको असहमतिको कारण मन्त्री खड्का झन् चिढिएका थिए। मन्त्रालय स्रोतका अनुसार यो तेस्रो स्पष्टीकरण पत्रपछि मन्त्रीपरिषद् बैठकमा कुलमानलाई हटाउने प्रस्ताव लैजाने तयारी भइरहेको छ।