एनआईएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टिल्स लिमिटेडमा लगानी गर्ने भएको छ। यस सम्बन्धमा मंगलबार एनआईएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टिल्सका निर्देशक विमल कुमार सावरथियाले सम्झौतामा हस्ताक्षर गरेका छन्। कम्पनीका अनुसार यस लगानीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमता वृद्धि गर्न, बजार विस्तारलाई तीव्रता दिन र उत्पादन दक्षता सुधार गर्न मद्दत गर्नेछ।
सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टिल्स लिमिटेड नेपालमा टीएमटी रड, ब्लेड र रिब्ड तार उत्पादन गर्ने प्रमुख कम्पनीमध्ये एक हो। नवलपरासीको सुनवलमा अत्याधुनिक प्रविधियुक्त उद्योग सञ्चालन गर्दै आएको यस कम्पनीले उच्च गुणस्तरको स्टिल उत्पादनलाई प्राथमिकता दिँदै आएको छ। एनआईबीएल इक्विटी पार्टनर्सको लगानीपछि कम्पनीको उत्पादन क्षमता अभिवृद्धि हुने र नेपालको पूर्वाधार क्षेत्रमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
एनआईएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले एनआईबीएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, ‘यस लगानीको साथ हामी लक्ष्मी स्टिल्सलाई नयाँ उचाइमा पुर्याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौँ।’लक्ष्मी स्टिल्सका निर्देशक विमल कुमार सावरथियाले एनआईबीएल इक्विटी पार्टनर्सको विशेषज्ञता र लगानीले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।



















प्रतिकृया