मन्त्री भण्डारी भारत भ्रमण सकेर आज स्वदेश फर्किए, के के छलफल भयो ?
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
उनले भारतको राजधानी नयाँ दिल्लीमा मङ्सिर १७ र १८ गते आयोजित २९औँ साझेदारी शिखर सम्मेलनमा सहभागिता जनाएका थिए, जुन भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा सम्पन्न भएको हो।
भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
चौथाइवालेसँगको भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो भने भारतीय विदेशमन्त्रीसँगको भेटमा बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माण र सीमामा नेपालीले भोगिरहेका समस्या समाधानका विषयमा कुराकानी भएको थियो।
त्यस्तै, भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँगको भेटमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आयातमा सहजता, नेपालबाट निर्यात हुने वस्तुमा लगाइएको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (BIS) को सहजीकरण, सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण, सर्लाहीमा एलपी ग्यास पाइपलाइन निर्माण, नेपाली वस्तुको भारतमा निर्यात वृद्धि, र भारतीय लगानीलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो।
भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी नाका सञ्चालनको विषयमा पनि छलफल भएको थियो। मन्त्री भण्डारीको यस भ्रमणले नेपाल–भारत व्यापारिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।