सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरूले ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर गर्दै आएको धर्ना स्थगित गरेका छन्। सहमतिपछि उनीहरू आज आ–आफ्नो घर फर्किएका हुन्।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो।
सहमति कार्यान्वयनसँगै सरकारले आज बिहान ८:५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई उनीहरूको गन्तव्यतर्फ पठाएको थियो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको हो।
झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई आ–आफ्नो क्षेत्रतर्फ पठाइएको छ।


प्रतिकृया