भारतमा दक्षिण कोरियाली कार निर्माता किया मोटर्समाथि १३ अर्ब ५६ करोड भारु कर छली गरेको आरोप लागेको छ। भारतीय भन्सार विभागले कियाले लक्जरी कार्निभल मोडेलका कम्पोनेन्टहरू विभिन्न बन्दरगाहबाट छुट्टाछुट्टै लटमा आयात गरी कम भन्सार तिर्ने योजना बनाएको दाबी गरेको छ।
भारतीय भन्सार नियमअनुसार एकै पटकको ढुवानीमा “पूर्णत: नक डाउन” (CKD) फारममा आयात गरिएका पार्टपुर्जामा ३० प्रतिशतदेखि ३५ प्रतिशतसम्मको भन्सार शुल्क लाग्छ। तर छुट्टाछुट्टै लटमा गरिने आयातमा केवल १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको मात्र शुल्क लाग्ने व्यवस्था छ। यसैको फाइदा उठाउदै कियाले पार्टपुर्जा आयात गर्दा गलत वर्गीकरण गरी ३० देखि ३५ प्रतिशतसम्म लाग्नुपर्ने भन्सार शुल्कभन्दा कम अर्थात् १० देखि १५ प्रतिशत मात्र तिरेको आरोप लगाइएको छ।
कम्पनीले भने आरोप अस्वीकार गर्दै कर कार्यालयलाई आवश्यक प्रमाण र विस्तृत विवरण बुझाइसकेको जनाएको छ। किया मोटर्सका अनुसार आफ्नो व्यवसायिक प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै कानुनी प्रक्रियामा पूर्ण सहयोग गरिरहेको छ।
२०२० देखि २०२२ सम्म कियाले भारतमा कर्निभलको ९,८८७ इकाइ बिक्री गरेको थियो। विवाद समाधानका लागि कियाले “प्रोटेस्ट अन्तर्गत” २.७८ अर्ब भारु (३२ मिलियन डलर) भुक्तानी गरिसकेको छ।
यदि आरोप प्रमाणित भएमा कियाले जरिवाना र ब्याजसहित ३१० मिलियन डलर बराबरको थप भुक्तानी गर्नुपर्ने टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ।



















प्रतिकृया