insta insta

रसुवा बाढीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार: प्रधानमन्त्री शाह

रसुवा बाढीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार: प्रधानमन्त्री शाह
Advertisement Ads

 प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरमा बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाइएको जानकारी दिएका छन्। उनका अनुसार प्रभावित क्षेत्रमा १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ भने हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार उद्धारमा नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन्।

हालसम्म उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट उद्धार गरिएका १९१ जना र हवाई उद्धारमार्फत निकालिएका ५१७ जना समेत छन्। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा नियमित Shuttle Flight सञ्चालन भइरहेका छन् भने हालसम्म ९९ हवाई उडान भएका छन्।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम पनि जारी छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत ६ वटा उडानबाट थप राहत सामग्री पुर्‍याइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई पनि उच्च प्राथमिकता दिइएको छ। Upper Trishuli Hydropower Project र रसुवागढी जलविद्युत् केन्द्रमा फसेकाहरू तथा अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको र आवश्यक विशेष उद्धार उपकरण परिचालन गरिएको जनाइएको छ।

बेपत्ता नागरिक तथा शवको खोजीलाई तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको छ।

विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा समेत विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान भएको तथा परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास र परिवारसँग समन्वय गर्न Emergency Control Room सञ्चालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्।

विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार र राहतका लागि आवश्यक सहयोग तथा सामग्रीबारे निरन्तर समन्वय भइरहेको बताएका छन्।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ भने २ लाखभन्दा बढी SMS Alert मार्फत नागरिकलाई पूर्वसूचना दिइएको छ।

सडक सम्पर्क पुनःस्थापनातर्फ पनि काम अघि बढेको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन् भने काठमाडौं–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक पनि साना चारपाङ्ग्रे सवारीका लागि सुचारु भएको छ।

क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु गरिएको छ। नियमित सडक सम्पर्क पुनःस्थापनाका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन र सरसफाइको व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ। नुवाकोटमा KUKL का चारवटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर पठाइएको छ। नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको छ।

बाढीबाट भएको क्षतिको विस्तृत मूल्यांकनका लागि सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् लगायतका संरचनाको अवस्था अध्ययन गर्न Sectoral Groups र १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।

स्वास्थ्य सेवातर्फ Health Emergency Operation Center सक्रिय राखिएको छ भने ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको तथा औषधि र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको जनाइएको छ।

दूरसञ्चार सेवा पुनःस्थापनामा पनि प्रगति भएको छ। प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा आएका छन्।

विद्युत्तर्फ नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ।

जोखिममा रहेका परिवारका लागि Emergency Shelter को स्थल पहिचान तथा Relocation को काम अघि बढाइएको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा आवतजावत सहज बनाउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको कामसमेत अघि बढाइएको छ।

राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार र आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १.९ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार गर्ने काम अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने काम भइरहेको छ। साथै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।

प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा राज्य प्रभावित प्रत्येक परिवारको साथमा रहेको उल्लेख गर्दै उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई दिँदै विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोमा धन्यवादसमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स