कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने म्याद थपिएको छ।
धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार अब आयोजना प्रभावित स्थानीयले उक्त आईपीओमा आगामी चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि सो अवधिभन्दा अगावै मागभन्दा बढी आवेदन परेमा कम्पनीले सूचना प्रकाशित गरी निष्काशन प्रक्रिया बन्द गर्न सक्नेछ।
कम्पनीले पहिलो चरणमा फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ भने फागुन १७ गते नै बन्द भइसकेको छ।
कम्पनीले आफ्नो ५५ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत, अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
उक्त आईपीओमा दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ८ तथा कालिन्चोक गाउँपालिका वडा नम्बर १ र २ का बासिन्दाले मात्र आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
आवेदन दिन चाहने स्थानीयले धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका साथै कालिन्चोक हाइड्रोपावर कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सिङ्गटी शाखा मार्फत आवेदन दिन सक्नेछन्।

















प्रतिकृया