नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समयमै सूचना नदिएको भन्दै विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ। नेप्सेले कम्पनीलाई सूचना ढिलो दिनुको कारण खुलाउँदै तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको छ।
नेप्सेले २०८३ असोज २८ गते जारी गरेको पत्रअनुसार कम्पनीको सञ्चालक समितिको बैठक असोज २६ गते दिउँसो ३:३० बजे बसेको थियो। उक्त बैठकले वार्षिक साधारणसभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो।
तर, कम्पनीले उक्त निर्णयबारे नेप्सेलाई असोज २७ गते बेलुका ५:५९ बजे मात्रै नेप्सेको अनलाइन सूचना प्रणाली (NOTS) मार्फत जानकारी गराएको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सम्बन्धित सूचीकृत संस्थाले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ।
कम्पनीले उक्त व्यवस्था पालना नगरेको भन्दै नेप्सेले विनियमावलीको विनियम १६(१)(ख) बमोजिम असोज २८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगन गरेको जनाएको छ।
साथै, पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र सूचना समयमै उपलब्ध गराउन नसक्नुको कारण स्पष्ट पार्दै स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिइएको छ।


प्रतिकृया