गोल्याण फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्याउन खटिएका ८६ जना स्वयंसेवकलाई सम्मान गरेको छ। फाउन्डेसनले नुवाकोटमा सञ्चालन गरेको होल्डिङ सेन्टरमा सहयोग गरेका स्वयंसेवकको योगदानको कदर गर्दै सम्मान गरेको हो।
गोल्याण ग्रुपको सामाजिक संस्था गोल्याण फाउन्डेसनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेको होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो।
अभियानका क्रममा बाढी प्रभावित परिवारका लागि सामुदायिक भान्छा, स्वास्थ्य सेवा, मनोसामाजिक प्राथमिक सहायता तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको थियो। विपद्का कठिन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन स्वयंसेवकहरूले निरन्तर सक्रिय रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले विपद्का समयमा निःस्वार्थ भावनाले सेवामा खटिएका स्वयंसेवकहरूको योगदानको प्रशंसा गरे। उनले गोल्याण फाउन्डेसनले सञ्चालन गरेको मानवीय तथा परोपकारी कार्यको समेत सराहना गरे।
गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले स्वयंसेवकहरूको समर्पण, सेवाभाव र सामूहिक प्रयासको प्रशंसा गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गरेर आगामी दिनमा पनि सामाजिक क्षेत्रमा योगदान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मानवीय सेवामा निरन्तर सक्रिय रहन स्वयंसेवकहरूलाई प्रोत्साहित गर्दै गोल्याण ग्रुप सधैँ उनीहरूको साथमा रहने विश्वाससमेत व्यक्त गरे।
त्यसैगरी, गोल्याण फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले अभियानका क्रममा फिल्ड कमान्डरका रूपमा प्रत्यक्ष नेतृत्व गर्दाका अनुभव साझा गरिन्। उनले विपद्का बेला देखिएको सहकार्य, समर्पण र मानवीय भावनाको चर्चा गर्दै अभियान सफल बनाउन योगदान पुर्याउने स्वयंसेवक, सहकर्मी तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा जेन–जी परिवार कल्याण समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठ, सदस्य पुरुषोत्तम खतिवडालगायत गोल्याण ग्रुपका विभिन्न नेतृत्व तहका प्रतिनिधिहरूको उपस्थिति थियो।



प्रतिकृया