यातायात व्यवस्था विभागले देशभरका साविक अन्तरप्रदेशीय रुटमा २३ वटा नयाँ रुट थप गरेको छ। विभागले मातहतका सवारी परीक्षण केन्द्र (भीएफटीसी) लाई पत्राचार गर्दै नयाँ रुटहरू नियमअनुसार सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।
नयाँ रुटहरूको दूरी, सञ्चालन हुने सवारीको प्रकार, दिवा तथा रात्री सेवाको व्यवस्था र भाडादरसमेत सार्वजनिक गरिएको छ। निर्णयबारे आवश्यक समन्वयका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई समेत जानकारी गराइएको छ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ नयाँ बसपार्कबाट सातदोबाटो, टिकाभैरव, ठिगन र हेटौँडा हुँदै वीरगञ्जसम्मको १६१ किलोमिटर दूरीमा ५६६ रुपैयाँ भाडा निर्धारण गरिएको छ। यस रुटमा साना तथा मझौला यात्रुवाहक र मालवाहक सवारी सञ्चालन गर्न सकिनेछ।
त्यस्तै, हेटौँडाबाट विभिन्न स्थान हुँदै इटहरीसम्मको ३२९ किलोमिटर रुटमा १ हजार १५८ रुपैयाँ भाडा कायम गरिएको छ। यस रुटमा सबै प्रकारका यात्रुवाहक तथा मालवाहक सवारीका लागि दिवा सेवा सञ्चालन गर्न सकिनेछ।
पूर्वी नेपाल र मधेसका विभिन्न स्थानलाई राजधानीसँग जोड्ने लामो दूरीका रुटमा पनि दिवा तथा रात्री सेवा सञ्चालनको व्यवस्था गरिएको छ। विराटनगरबाट बरगाछी, लौकही, हेटौँडा, नारायणघाट र मुग्लिन हुँदै काठमाडौँसम्मको ५५२ किलोमिटर दूरीका लागि १ हजार ९४३ रुपैयाँ भाडा निर्धारण गरिएको छ।
राजविराजबाट काठमाडौँसम्मको ४७६ किलोमिटर रुटमा १ हजार ६७५ रुपैयाँ र सिरहाबाट चोहर्वा, हेटौँडा तथा नारायणघाट हुँदै काठमाडौँसम्मको ४५७ किलोमिटर रुटमा १ हजार ६०८ रुपैयाँ भाडा तोकिएको छ।
काठमाडौँबाट मधेस प्रदेशका विभिन्न गन्तव्यसम्म पुग्ने रुटहरूमा पनि नयाँ भाडादर कायम गरिएको छ। काठमाडौँ–नारायणघाट–बर्दिवास हुँदै जलेश्वरसम्मको ४१७ किलोमिटर दूरीमा १ हजार ४६७ रुपैयाँ, काठमाडौँ–जनकपुर हुँदै जलेश्वर–बखरी–एकडारा हुँदै मनरासम्मको ४०२ किलोमिटर दूरीमा १ हजार ४१५ रुपैयाँ र काठमाडौँ–जनकपुर हुँदै खजुरीसम्मको ४१८ किलोमिटर दूरीमा १ हजार ४७१ रुपैयाँ भाडा निर्धारण गरिएको छ।
यसैगरी, काठमाडौँबाट मलंगवा हुँदै बलरासम्मको ३७० किलोमिटर रुटमा १ हजार ३०२ रुपैयाँ, गौर हुँदै माधोपुरसम्मको ३६६ किलोमिटर रुटमा १ हजार २८८ रुपैयाँ र काठमाडौँबाट कलैया हुँदै मटिअर्वासम्मको २९१ किलोमिटर रुटमा १ हजार २४ रुपैयाँ भाडा कायम गरिएको छ।
वीरगञ्जबाट चितवनका विभिन्न गन्तव्यसम्म पुग्ने रुट पनि थपिएका छन्। वीरगञ्ज–हेटौँडा–भरतपुर–पटियानी–जगतपुर–कसरा हुँदै माडीको बसन्तपुरसम्मको १७२ किलोमिटर दूरीमा ६०५ रुपैयाँ तथा वीरगञ्ज–हेटौँडा–भरतपुर–कल्याणपुर–रामपुर–चनौली–मेघौली हुँदै गोलाघाटसम्मको १६२ किलोमिटर दूरीमा ५७० रुपैयाँ भाडा तोकिएको छ। यी दुवै रुटमा दिवा सेवा सञ्चालन गर्न अनुमति दिइएको छ।
विभागले नयाँ रुट थप भएसँगै सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई सार्वजनिक यातायात सेवा सहज हुने र मालसामान ढुवानीमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रतिकृया