आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।
आज सेयरबजारमा के भयो?
असोज २७ गते मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ४ अर्ब ७३ करोड बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको, १६७ कम्पनीको सेयर मूल्य घटेको र ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
गुुराँस लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
गुुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य १ हजार ६ सय ४० अनुसार मूल्य समायोजन गरिएको हो।
उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य १ हजार ४ सय ९७ रुपैयाँ ७२ पैसा कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
५ वटा कम्पनीले मागे आईपीओ निष्काशनको अनुमति, कुनले कति कित्ता निष्काशन गर्ने ?
असोज महिनामा पाँचवटा कम्पनीले (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। प्रतिकित्ता १०० रुपैयाँका दरले यी कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेका हुन्।
आईपीओ निष्काशनका लागि आवेदन दिने कम्पनीमा होटल सिराइचुली लिमिटेड, साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, पिस इनर्जी कम्पनी लिमिटेड, युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड र मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन्।
कुन कम्पनीले कति कित्ताका लागि दिए आवेदन?
होटल सिराइचुली लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता आईपीओ निष्काशन गर्न आवेदन दिएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त आईपीओको कुल रकम १५ करोड रुपैयाँ हुनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
त्यस्तै, साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न आवेदन दिएको छ। यसबाट कम्पनीले ३१ करोड रुपैयाँ बराबरको पुँजी जुटाउने प्रस्ताव गरेको छ। उक्त आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
पिस इनर्जी कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि ३२ लाख कित्ता आईपीओ निष्काशन गर्न आवेदन दिएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले यसको कुल रकम ३२ करोड रुपैयाँ हुनेछ। कम्पनीको बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।
यसैगरी, युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि १९ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्न आवेदन दिएको छ। कम्पनीले उक्त आईपीओमार्फत १९ करोड ७० लाख रुपैयाँ जुटाउने प्रस्ताव गरेको छ। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि ९२ लाख ४१ हजार ४२६ कित्ता आईपीओ निष्काश न गर्न आवेदन दिएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त आईपीओको कुल रकम ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ हुनेछ। कम्पनीको बिक्री प्रबन्धक पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
याम्बालिङ्ग हाइड्रोपावरको १ लाख कित्ता सेयरको लकइन सकिँदै
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको १ लाख ५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी कात्तिक २९ गते समाप्त हुने भएको छ।
कम्पनीले २०८३ वैशाख ३० गते सार्वजनिक निष्काशनमार्फत बाँडफाँट गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयरको लकइन अवधि समाप्त हुन लागेको हो। उक्त सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ५ लाख रुपैयाँ बराबर रहेको कम्पनीले जनाएको छ।
यद्यपि, सामूहिक लगानी कोषको एउटा योजना परिपक्व भइसकेकाले उक्त योजनाको स्वामित्वमा रहेका ९९५ कित्ता सेयर भने नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको पत्रमा भएको व्यवस्थाबमोजिम लकइन अवधि समाप्त हुनुअगावै फुकुवा गरिएको कम्पनीले जनाएको छ।
मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]
उद्यमी प्रभुलाल अधिकारीले सेयर बजारमा सफल लगानीका लागि कम्पनीको बजार मूल्यभन्दा त्यसको वास्तविक व्यवसाय, वित्तीय अवस्था, व्यवस्थापन क्षमता र भविष्यमा आम्दानी बढाउने सम्भावनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। छोटो समयमै नाफा कमाउने उद्देश्य राख्नुभन्दा दीर्घकालीन सोचका साथ कम्पनी छनोट गर्नुपर्ने उनको सुझाव छ।
बजारको चिरफारको प्रिमियम पोडकास्टमा कुराकानी गर्दै अधिकारीले आफूले करिब २२ वर्षअघि पुँजी बजारबाट लगानी यात्रा सुरु गरेको जानकारी दिए। हाल जलविद्युत्, सिमेन्ट, रियल इस्टेट र हस्पिटालिटीलगायतका क्षेत्रमा संलग्न उनी सिद्धार्थ केबलकारका प्रबन्ध निर्देशकसमेत हुन्।
अधिकारीका अनुसार सेयर खरिद गर्नुअघि कम्पनीले कस्तो व्यवसाय गरिरहेको छ, भविष्यमा कति आम्दानी गर्न सक्छ र त्यसको नेतृत्व कसले गरिरहेको छ भन्ने विषयमा स्पष्ट हुनुपर्छ। कम्पनीको वित्तीय विवरण, व्यवस्थापनको क्षमता र व्यवसाय विस्तारको सम्भावना अध्ययन नगरी अरूको सल्लाहमा सेयर खरिद गर्दा जोखिम बढ्न सक्छ।
उनले सेयर बजारलाई केवल सेयर किनबेच गरेर नाफा कमाउने माध्यमका रूपमा मात्र नबुझी व्यवसायमा लगानी गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। आफूले लगानी गरेको कम्पनीको व्यवसायबारे राम्रो जानकारी भए बजारमा उतारचढाव आउँदा पनि उपयुक्त निर्णय लिन सहज हुने उनको भनाइ छ।
मंगलबार नेप्सेमा बेनी हाइड्रोपावको आईपीओ सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (BENH) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई न्यूनतम ९१ रुपैयाँ २७ पैसा र अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा भोलि बुधबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।
माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको २०८३ असोज २६ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको १४६औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र आगामी कात्तिक २० गते हुने कम्पनीको १३औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक १० गते एक दिन सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णयसमेत गरेको छ। उक्त मितिअनुसार बुक क्लोज हुनुअघिको सेयरधनी दर्ता विवरणका आधारमा साधारणसभामा सहभागी हुने तथा लाभांश प्राप्त गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइनेछ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरका आधारभूत सेयरधनी तिमल्सिनाले ४ लाख ६० हजार कित्ता सेयर बेच्ने
मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी रामप्रसाद तिमल्सिनाले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार तिमल्सिनाले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहितको निवेदन असोज २२ गते कम्पनीमा दिएका हुन्।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ।
हिजोका समाचार छुटाउनुभयो कि?
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।
भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।
धन्यवाद।

प्रतिकृया