हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्नेछ। यसमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्रअन्तर्गत दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता सेयर ती दुई गाउँपालिकाका अन्य वडामा स्थायी रूपमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन्।
आवेदन दिने म्याद र कित्ता सीमा
दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। तर, आवेदन दिने अन्तिम मिति भने समूहअनुसार फरक रहेको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन बन्द हुने मिति छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते तोकिएको छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको रेटिङ र जलविद्युत् आयोजनाको अवस्था
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कहाँबाट दिने आवेदन ?
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसबाहेक लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाले सेयर खरिदका लागि दरखास्त फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

प्रतिकृया