धुलिखेल अस्पतालमा आजदेखि स्वास्थ्य बीमा सेवा पुनः सुरु भएको छ। स्वास्थ्य बीमा बोर्डबाट ८ करोड रुपैयाँ भुक्तानी प्राप्त भएपछि अस्पतालले बीमितका लागि सेवा पुनः सञ्चालनमा ल्याएको हो।
बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम रोकिएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द गरेको थियो।
स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा हाल बहिरंग (ओपीडी) सेवामार्फत बीमा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। ओपीडीबाहेकका अन्य सेवा भने तत्काल स्वास्थ्य बीमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले स्पष्ट पारेको छ।
बीमा सेवा लिन आउने बिरामीले स्वास्थ्य बीमा परिचयपत्रसहित आवश्यक कागजात पेस गरी तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ। अस्पताल आउनुअघि बीमितले आफूलाई पायक पर्ने प्रथम सेवा बिन्दुबाट आवश्यक प्रेषण लिनुपर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य बीमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन नहुने अस्पतालले जनाएको छ।

प्रतिकृया