बाढीले क्षतिग्रस्त विपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण हुँदै, डिभिजनले ठेक्का आह्वान गर्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
बाढीले क्षतिग्रस्त विपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण हुँदै, डिभिजनले ठेक्का आह्वान गर्यो

विपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फको दोस्रो खण्डमा भक्तपुर सडक डिभिजनले ठेक्का आह्वान गरेको छ। बाढीले क्षतिग्रस्त बनाएको यो राजमार्गको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको छ।

चरसयाबेसीदेखि भकुन्डेबेसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ। यसका लागि आवेदन दिने निर्माण कम्पनीले ६ करोड ५० लाख रुपैयाँ ‘सेक्युरिटी’ बापत राख्नुपर्ने व्यवस्था गरिएको छ। पुनर्निर्माण कार्य पूरा गर्न दुई वर्षको समय तोकिएको छ। हालसम्म २४.५ किलोमिटर सडक पुनर्निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ बराबरको ठेक्का आह्वान भइसकेको छ भने बाँकी ३.५ किलोमिटर सडकको ठेक्का आगामी साताभित्र खुलाइने योजना रहेको छ। यसअघि डालाबेसी-चरसयाबेसी खण्डको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो, जबकि नेपालथोक-सिन्धुली खण्डको ठेक्का अघिल्लो हप्ता निकाली सकिएको छ।

गत फागुन २८ गते सिन्धुली खण्डको नेपालथोक-वर्षेखोला खण्ड पुनर्निर्माणका लागि ७२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो। काभ्रेपलाञ्चोकतर्फ पहिलो ठेक्का फागुन ६ गते आह्वान भइसकेको छ।

सरकारले विपी राजमार्ग पुनर्निर्माणका लागि कुल ८.५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका सडक भागसमेत समेटेर पुनर्निर्माण कार्य अघि बढाइँदै छ। नयाँ बन्ने सडक १० मिटर चौडा हुनेछ, जसमा ७ मिटर भाग कालोपत्रे गरिनेछ। डीपीआर अनुसार, सब-बेस ३०० मिमी, बेस २५० मिमी, वाटर बाउन्ड म्याडम ७५ मिमी, र ४० मिमीको आस्फाल्ट कालोपत्र गर्ने योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स