एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने अवधि चैत ३ गतेसम्म लम्बिएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गरेको हो।
बैंकले प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र, कुल ३ अर्ब रुपैयाँ बराबरमा निष्कासन गरेको छ। यसमध्ये ६० प्रतिशत (१ अर्ब ८० करोड रुपैयाँ बराबर) व्यक्तिगत तवरबाट बाँडफाँट हुनेछ, जबकि ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्बा प्रणाली अन्तर्गत, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी दिन सकिन्छ।
क्रेडिट रेटिङ संस्थान इक्रा नेपाल ले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च सुरक्षा रहेको संकेत गर्छ। ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।















प्रतिकृया