दोर्दी खोला जलविद्युतको लिलामी सेयर बाँडफाँट सम्पन्न
दोर्दी खोला जलविद्युत लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएका सेयरहरूको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्काशन गर्दा बिक्री हुन नसकेका जम्मा १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमा बिक्रीका लागि खुला गरेको थियो। ती सेयरमध्ये संस्थापक समूहतर्फ १२ लाख ८५ हजार ४१ कित्ता, लक-इनमा परेको सर्वसाधारण समूहतर्फ १ लाख ६५ हजार ९५६ कित्ता र लक-इनमा नपरेको सर्वसाधारण समूहतर्फ ४ लाख ९५ हजार ६७९ कित्ता सेयर रहेका थिए। कम्पनीले यि सेयरहरू जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमा बिक्रीका लागि खुला गरेको थियो।
सानिमा क्यापिटलको प्रारम्भिक विवरणअनुसार, सेयर प्राप्त गर्नका लागि न्यूनतम कबोल मूल्य संस्थापक समूहका सेयरमा प्रति कित्ता २६५ रुपैयाँ, लक-इनमा रहेको सर्वसाधारण समूहका सेयरमा २७० रुपैयाँ र लक-इनमा नरहेका सर्वसाधारण समूहका सेयरमा १११ रुपैयाँ तोकिएको थियो। यसअनुसार सो वा सोभन्दा माथिको मूल्य कबोल गर्ने आवेदकहरूले सेयर प्राप्त गरेका छन्। यद्यपि, बिक्री प्रबन्धक सानिमा क्यापिटलले अन्तिम रूपमा आवेदन फारमको समीक्षा गर्दा कट-अफ मूल्यमा सामान्य तलमाथि हुन सक्ने जानकारी दिएको छ।