स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिइन्।
सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताइन्।
दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा विस्तार र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको उनको भनाइ छ।
लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, पर्याप्त बिरामी चाप र ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्न लागिएको मन्त्री मेहताले बताइन्।
“लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,” मन्त्री मेहताले स्पष्ट पारिन्, “नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।”
सरकारले आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने नीति लिएको उनले बताइन्।
“हाम्रो उद्देश्य एउटै हो- दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,” मन्त्री मेहताले भनिन्।
उनले ढल्केबरको निर्माणाधीन संरचनालाई अघि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रहसमेत गरिन्।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया