शिक्षक आन्दोलनकाबीच कक्षा–१२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
शिक्षक आन्दोलनको प्रभावबीच पनि कक्षा–१२ को परीक्षा तोकिएको मितिमै सञ्चालन हुने निश्चित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले परीक्षा निर्धारित समयमै लिने निर्णय गरेको हो। बोर्डले यसअघि नै वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको थियो।
आजको बैठकमा शिक्षक आन्दोलनले सिर्जिएको अन्योल र त्यसका सम्भावित विकल्पहरूमाथि विस्तृत छलफल गरिएको थियो। यद्यपि, बोर्डले परीक्षा तालिका अनुसार नै सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।
नेपाल शिक्षक महासंघले करिब तीन हप्तादेखि काठमाडौंमा आन्दोलन गर्दै आएको छ। आन्दोलनको क्रममा महासंघले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई कक्षा–१२ को परीक्षा लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुन आह्वान गर्दै आएको छ।