अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल भित्रको असमझदारीले गर्दा नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) गठन भएको छ।
गाडी आयातकर्ता र निर्माता व्यवसायीहरूलाई समेट्ने नाइमा आगामी बैशाख ४ गते औपचारिक रूपमा आफ्नो भिजस तथा कार्यदिशा सार्वजनिक गर्दै छ। यद्यपि नाइमा घोषणा हुनुअघि नै यसले नाडासँग सहकार्यको प्रस्ताव राख्दै दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा अटोमोबाइल व्यवसायको समुचित विकास, दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरताका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। दुवै संस्थाले एक अर्काको अस्तित्व स्वीकार्दै उद्योगमैत्री नीति निर्माण र व्यवसायीको हकहितको संरक्षणमा स्वतन्त्र रूपमा काम गर्ने सहमति जनाएका छन्।
नाडा विगत ५० वर्षदेखि नेपालको अटोमोबाइल उद्योगमा नीति निर्माणदेखि चुनौतीहरूको समाधानमा सक्रिय भूमिका खेल्दै आएको संस्था हो। व्यवसायी करण चौधरीको नेतृत्वमा रहेको यस संस्थाबाट केही असन्तुष्ट व्यवसायीहरू टुक्रिएर नयाँ संस्था गठनमा लागेका हुन्।
नाइमा गत पुसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइसकेको छ भने अब छिट्टै औपचारिक रुपमा गठन हुँदैछ। नाइमाले उद्योगसँग सम्बन्धित सरोकारवालाहरूको सशक्तिकरण र समृद्धिका लागि सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजनाहरू अघि सार्ने जनाएको छ।
दुवै संघ अटो व्यवसायमै प्रत्यक्ष संलग्न रहेकाले केही कम्पनीहरूले दुवै संस्थामा सदस्यता लिन सक्ने उल्लेख गरिएको छ। दुबैले समान उद्देश्य बोकेर स्वतन्त्र ढंगले आफ्नो गतिविधि अघि बढाउने स्पष्ट पारेका छन्।
यस्तो छ संयुक्त विज्ञप्ति:
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवर्द्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा सधैं सक्रिय रहँदै आएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्नेछ ।
नाईमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । नाईमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउने रहेको छ । यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइनेछ ।
नाईमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ । यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पुरा गर्न काम गर्नेछ ।
हालै नाईमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाईमाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन् । हामी स्पष्ट पार्न चाहन्छौं कि नाडा र नाईम दुबै संस्थाको स्वतन्त्र सह अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुबै संस्थाले विश्वास गर्छन् ।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, नाडा र नाईम दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध छन् । नाईमाले २०८२ साल वैशाख ४ गते (१६ अप्रिल २०२५) मा आफ्नो औपचारिक शुभारम्भ गर्नेछ । सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्नेछ ।




















प्रतिकृया