दुई कम्पनीको साधारण सभाबाट लाभांश पारित, कुनको कति ?
दुई कम्पनीको वार्षिक साधारण सभा बाट लाभांश पारित भएको छ। दुई कम्पनी लक्ष्मी सनराइज बैंक ५.२६ प्रतिशत र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १४ प्रतिशत लाभांश पारित भएको हो।
लक्ष्मी सनराइज बैंकको २४ औं वार्षिक साधारणले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुगेको छ । सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गरेको थियो । तसर्थ, पुस १६ गतेसम्म कायम रहेका बैंकका सेयरधनीहरुले मात्र पारित लाभांश पाउनेछन् ।
साधारण सभाले आर्थिक वर्ष २०८०-८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०८०-८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप तथा २ खर्ब ५८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९-८० मा ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०-८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९-८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०-८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।
संस्थामा मुलुकका ७७ जिल्लाका ५ सय ४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।