बाढीले बगाएको बिपी राजमार्ग दशैं अगाडि नै सञ्चालन गर्ने तयारीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १७ गते
बाढीले बगाएको बिपी राजमार्ग दशैं अगाडि नै सञ्चालन गर्ने तयारीमा

रोशी खोलाको बाढीले बगाएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा अवस्थित बिपी राजमार्गको दुई सय मिटर सडकलाई पुनः अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले जनशक्ति र उपकरण परिचालन गरेर बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणको काम सुरु गरेको छ।

सडक डिभिजन प्रमुख सुमन योगेशले बाढीले बगाएको स्थानमा सडक बहाल गर्न ‘क्रस-डाइभर्ट’ विधि लागू गर्न सम्भव नभएको र तत्कालका लागि अस्थायी रूपमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। सडक निर्माण कार्य सुरु भइसकेको र दुई दिनभित्र एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

अविरल वर्षाका कारण शनिबार सडक सम्पर्क विच्छेद भएपछि स्थानीय बासिन्दा र यात्रुहरू अलपत्र परेका थिए। उनीहरूको आइतबारदेखि हेलिकप्टरद्वारा उद्धार गरिएको थियो। अवरुद्ध राजमार्गको अन्य खण्डहरूमा पनि मर्मत कार्य तीव्र पारिएको छ। भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको सडकमा ठूलो क्षति पुगेको छ भने करिब दुई किलोमिटर सडक पूर्ण रूपमा बगाएको अनुमान गरिएको छ।

सडक मर्मतमा नेपालथोकतर्फ पाँच डोजर र काभ्रेतर्फ चार स्काभेटर प्रयोग गरिएको छ। अवरुद्ध क्षेत्रहरूमा यातायात पुनः सञ्चालन गर्ने योजना अनुसार मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ। सडक डिभिजनका अनुसार राजमार्गको ८४ किमी खण्डमा विभिन्न स्थानमा क्षति पुगेको छ, जसको प्रारम्भिक अनुमान दुई अर्ब रुपैयाँभन्दा माथि रहेको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स