ऊर्जामन्त्रीविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको बैठक किन रोकियो ?

ऊर्जामन्त्रीविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको बैठक किन रोकियो ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुग्दा स्थगित भएको छ। बुधबार बिहान ११:३० बजेका लागि तय गरिएको बैठक कांग्रेसका सांसदहरूको अनुपस्थितिका कारण स्थगित भएको हो।

समितिमा कांग्रेसका आठ सांसद सदस्य रहे पनि बैठकमा केवल राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्र उपस्थित भए। अन्य पार्टीका सांसदहरूको पनि उपस्थिति न्यून रह्यो। २६ सदस्यीय समितिमा कोरम पूरा गर्न १४ सांसद आवश्यक पर्ने भए पनि बैठकमा मात्र १२ जना सांसद उपस्थित भएका थिए।

बैठकमा सहभागी कांग्रेसका केही सांसदहरू पनि हाजिरी गरेर एजेन्डामा प्रवेश नगर्दै बाहिरिएका थिए। अनुपस्थित रहने कांग्रेस सांसदहरूमा अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी, र सीता गुरुङ रहेका छन्।

मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थियो। मन्त्री खड्काले ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेपछि समितिमा उजुरी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स