सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बैठकले जेनजी आन्दोलनका क्रममा भएको दमन तथा क्षतिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयन सम्बन्धमा अध्ययन गरिरहेको समितिको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।
सुरक्षा संयन्त्रका पदाधिकारीमाथि गरिनुपर्ने कारबाहीबारे अध्ययन गर्न गठित उक्त समितिलाई थप समय आवश्यक परेको भन्दै कार्यकाल बढाइएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
त्यसैगरी, बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) अन्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले भूमि समस्या समाधान आयोगमा नयाँ नेतृत्वसमेत नियुक्त गरेको छ। आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ भने सदस्यहरूमा अभिप्रसाद न्यौपाने, पद्मनिधि सोती र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

प्रतिकृया