सार्वजनिक बिदामा पनि यी बैंकहरू खुल्ने, कति बजेसम्म ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २० गते
सार्वजनिक बिदामा पनि यी बैंकहरू खुल्ने, कति बजेसम्म ?

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि बैंकिङ सेवा भने पूर्ण रूपमा बन्द नहुने भएको छ। फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा रहे पनि अत्यावश्यक वित्तीय कारोबारलाई निरन्तरता दिन अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखामार्फत सीमित समयका लागि सेवा उपलब्ध गराउने भएका हुन्। अर्थतन्त्रका आधारभूत गतिविधि प्रभावित नहोस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंक ले बैंकहरूलाई आंशिक रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। विशेषगरी सरकारी राजस्व संकलन, उम्मेदवार तथा राजनीतिक दलका निर्वाचन खर्चसम्बन्धी कारोबार तथा दैनिक नगद आवश्यकतासँग जोडिएका सेवा बन्द हुँदा समस्या आउन सक्ने भन्दै राष्ट्र बैंकले तोकिएका काउन्टर खुला राख्न भनेको हो।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकहरूले निर्वाचन बिदाका दिन शाखा खुला राख्ने सूचना सार्वजनिक गरिसकेका छन्। यी तीन बैंकले हालसम्म सेवा दिनेबारे कुनै सूचना जारी गरेका छैनन् भने सिद्धार्थ बैंकले होलीडे काउन्टर बन्द गर्ने जनाएको छ।

नबिल बैंकले कोशी प्रदेशका विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक, मधेशका वीरगञ्ज र जनकपुर (पिडारीचोक), गण्डकीको पोखरा, लुम्बिनीका बुटवल, भैरहवा र नेपालगञ्ज (धम्बोजी), कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढी शाखा सञ्चालन गर्ने जनाएको छ भने बागमती प्रदेशका तीनधारा, ललितपुर, न्यूरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा गरी १० शाखा खुला राख्नेछ।

प्रभु बैंकले बबरमहलस्थित मुख्य कार्यालयसहित जनकपुर, पोखरा (रत्नचोक), इटहरी, कमलादी, विराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र थानकोट शाखाबाट सेवा दिने जनाएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले विराटनगर, वीरगञ्ज, जनकपुर, दरबारमार्ग, सिपाडोल, पुल्चोक, ठमेल, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा खुला राख्नेछ।

त्यस्तै कृषि विकास बैंकले बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कञ्चनबारी, धरान, बर्दिबास, सिमरा, जोरपाटी, लगनखेल, रत्नपार्क, नारायणगढ, कान्तीराजपथ (हेटौँडा) लगायत पोखरा, पालुङटार, हुवास, भैरहवा, खस्यौली, धम्बोजी, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनी शाखाबाट सेवा दिने जनाएको छ।

नेपाल एसबीआई बैंक ले विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, दरबारमार्ग, टेकु, सिर्जना चोक (पोखरा), बुटवल, भैरहवा, सुर्खेत र धनगढी शाखा सञ्चालन गर्नेछ भने एनआईसी एशिया बैंक ले न्यूरोड (खिचापोखरी), थानकोट, नारायणगढ, कमलादी, पुल्चोक, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट सेवा दिने जनाएको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले सातै प्रदेशका विभिन्न शाखा—हनुमानदास रोड, गाईघाट, धुलाबारी, इटहरी, धरान, वीरगञ्ज, लहान, जनकपुर, कान्तिपथ, न्युरोड, ठमेल, नारायणगढ, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज, भैरहवा, घोराही, सुर्खेत, टिकापुर, अत्तरिया र महेन्द्रनगरलगायत—बाट सेवा उपलब्ध गराउने जनाएको छ।

यसरी निर्वाचन बिदाका दिन पूर्ण रूपमा बैंकिङ सेवा ठप्प नहुने भए पनि सेवा सीमित शाखा र सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले ग्राहकले आवश्यक कारोबारअघि सम्बन्धित बैंकको आधिकारिक सूचना हेरेर मात्र शाखा पुग्न सुझाव दिइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स