राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार नेकपा एमाले आम्दानी र बचतका आधारमा सबैभन्दा धनी राजनीतिक दल बनेको छ।
आर्थिक वर्ष २०८०/८१ मा एमालेले १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ, जसमा पार्टी सदस्यता शुल्क प्रमुख स्रोत रहेको छ। सोही अवधिमा एमालेले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ।

कांग्रेस घाटामा, अन्य दलको अवस्था कस्तो ?
संसदको पहिलो दल नेपाली कांग्रेसले २ करोड ५९ लाख ८ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ। तर, पार्टीको खर्च ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ पुगेको हुँदा कांग्रेस २ करोड ३२ लाख ४७ हजार ६०० रुपैयाँ घाटामा छ।

नेकपा माओवादी केन्द्रले १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरे पनि खर्च २ हजार ४४४ रुपैयाँ बढी १ करोड ८६ लाख ५५ हजार ५९० रुपैयाँ भएको देखिन्छ। त्येसैले माओवादी केन्द्र २ हजार ४४४ रुपैयाँ घाटामा छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन् ठूलो घाटामा परेको छ। २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपैयाँ आम्दानी गरे पनि ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ खर्च गरेकाले उसले २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँ घाटा बेहोरेको छ। रास्वपाको खर्च आम्दानीको करिब दोब्बर छ।

नेकपा एकीकृत समाजवादीको आम्दानी ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ भए पनि खर्च ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ पुगेको छ, जसका कारण उसले ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटा व्यहोर्नु परेको छ।

यस्तै गत वर्ष १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरेको जनमतले १ करोड १९ लाख ११ हजार ३३३ रुपैयाँ खर्च गरेको छ, जसका कारण २९ हजार ३९० रुपैयाँ घाटामा परेको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दलहरूले आफ्नो आयव्ययको लेखा परीक्षण गराई एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ। सोही अनुरूप, गत माघसम्म ८८ राजनीतिक दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका छन्। हाल आयोगमा दर्ता दलहरूको संख्या ११५ रहेको छ।

प्रतिकृया