चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनका परिवारलाई सो सहायता उपलब्ध गराइने गृहमन्त्रीको सचिवालयले जनाएको छ।
पत्रकार सुरेश रजक रिपोर्टिङका क्रममा सहकर्मी अनिल रायमाझीसँग एभिन्युजको कार्यालयबाट निस्किएका थिए। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर उनको मृत्यु भएको थियो। पोस्टमार्टम रिपोर्टले उनको जलेर मृत्यु भएको पुष्टि गरेको छ।
त्यस्तै, कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जन काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने व्यक्ति थिए। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो। महर्जनको हिजै अन्त्येष्टी गरिएको छ।
















प्रतिकृया